बिहिवार, फाल्गुण २१ २०८२
नेपाल वाइड
खोटाङ, २१ फागुन । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरी ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लामा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् ।
जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएको थियो । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । मतदानस्थलबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ ।
टाढा रहेका सबै मतदान केन्द्रबाट भोलि फागुन २२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइएको छ । नजिकै रहेका मतदानस्थलहरूबाट मतपेटिकाहरू आउन थालेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिए । दश स्थानीय तह रहेको खोटाङमा दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् ।
नेपाली काँग्रेसबाट वीरकाजी राई, एमालेबाट देवबिक्रम राई, नेकपाबाट डा. हरि रोका, रास्वपाबाट रुद्र गिरी, जसपाबाट राकेश राई, राप्रपाबाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहेका छन् । डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।