Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका


    • बिहिवार, चैत्र १९ २०८२

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका
    पूर्ण खोप सुनिश्चित नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईलगायत ।

    खोटाङ, १९ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ३४७ बालबालिकाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि बिहीबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

    जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिसलगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरूपमा पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका हुन् । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

    कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिबद्धता–पत्रमा सामूहिक रूपमा हस्ताक्षर गरेका छन् ।

    नगर खोप समन्वय समितिको सिफारिसको आधारमा गरिएको ‘र्‍यान्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित घोषणाका लागि दिएको अनुमतिको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए । दश स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण खोप सुनिश्चित घोषणा गर्ने दिक्तेल नगरपालिका पहिलो बनेको छ ।

    सम्बन्धित समाचार