Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images
    ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’

    दिक्तेलमा जेठ ३ देखि तेस्रो खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुने

    दिक्तेलमा जेठ ३ देखि तेस्रो खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुने


    • शनिवार, चैत्र २८ २०८२

    • नेपाल वाइड


    दिक्तेलमा जेठ ३ देखि तेस्रो खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुने

    खोटाङ, २८ चैत । खोटाङको दिक्तेल बजारमा आगामी जेठ ३ गतेदेखि ९ गतेसम्म ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ भव्य रूपमा सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघ खोटाङको संयुक्त आयोजनामा हुने छ दिने महोत्सवले जिल्लाको खेलकुद, साहित्य र पर्यटनलाई एकसाथ अघि बढाउने लक्ष्य राखेको छ ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईका अनुसार खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा विकास गर्न र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने महत्वाकांक्षी उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

    “यसअघि सञ्चालन गरिएका महोत्सवमा देशविदेशका खेलाडीहरू सहभागी भएका थिए र महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ,” उनले भने ।

    महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता गरी तीन प्रमुख विधाहरू समावेश रहनेछन् । एथलेटिक्स प्रतियोगिता माटीकोरे खेलमैदानमा र बुद्धिचाल तथा साहित्यिक कार्यक्रम जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सञ्चालन हुनेछन् । दौड प्रतियोगिता विभिन्न उमेर समूहका लागि फरक–फरक दूरीमा आयोजना गरिनेछ ।

    १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ देखि १५ वर्षमुनिका छात्रछात्राका लागि ७ किलोमिटर, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि ७ किलोमिटर, आमाहरूका लागि ५ किलोमिटर, ५५ वर्षमाथिका पुरुषका लागि २ किलोमिटर र १५ वर्षमाथिका महिला तथा पुरुषका लागि खुला १० किलोमिटर दौड प्रतियोगिता राखिएको छ ।

    विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । १० किलोमिटर खुला दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, रु १० हजार र रु ७ हजार पाउनेछन् । ३५ वर्षमाथिकाको ७ किलोमिटर दौडमा पनि सोही बराबरको पुरस्कार रहेको छ भने १२–१५ वर्षका वर्गमा प्रथम हुनेले ७ हजार ५०० पाउनेछन् । खुला बुद्धिचाल प्रतियोगितामा प्रथम स्थानका लागि २५ हजारसहित सातौँ स्थानसम्मका लागि नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना हुने साहित्यिक कार्यक्रममा ख्यातिप्राप्त साहित्यकारहरूले कविता, गजल र मुक्तक प्रस्तुत गर्नेछन् । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन भइसकेको छ । नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईका अनुसार महोत्सवका लागि ३० लाख १३ हजार २३२ बजेट अनुमान गरिएको छ ।

    जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा आयोजना हुने यस महोत्सवको समापनमा विभिन्न विधामा उल्लेखनीय योगदान गर्ने पाँचजना व्यक्तिलाई नगदसहित विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।

     

    सम्बन्धित समाचार