आइतवार, बैशाख २० २०८३
तीर्थराज भट्टराई
खोटाङ, २० बैखाख । वैशाख महिना–सामान्यतया गर्मी, धूलो र तातो हावाको समय । तर प्रकृति सधैं पूर्वानुमान अनुसार चल्दैन । केही वर्षदेखि विश्व जलवायु परिवर्तनको कारण वातावरणीय दुष्परिणामले प्रभावित गर्न थालेको छ । २०८३ वैशाख १९ गते शनिवारका दिन मौसम अझ फरक थियो ।
विहानैदेखि पटकपटक सिमसिम पानी परिरहेको अवस्था । चिसो हावासँगै कालो बादलले आकाश ढाकेको थियो । वादलसँगै लुकामारी खेल्दै सप्तरंगी किरण छर्दै घाम टुप्लुक्क देखिन्थे । बिहानै उठ्दा चराचुरुङ्गीको चिरबिर आवाजले वातावरणलाई कुनै मधुर संगीत झैं बनाएको थियो । दिक्तेल स्थित मेरो घरको पूर्वतिर रहेको बाँसको झ्याङ र वरको-पिपलको रुख हावासँग सुसाउँदै थिए । प्रकृतिको त्यो मधुर्यले मनमा अनौठो शान्ति र आनन्द महशुस गरायो । “प्रकृति नै मानवको जीवनको पहिलो पाठशाला हो” भन्ने भनाई त्यस क्षणमा जीवन्त गरायो ।
बिहान ६.३० बजे नै पाथेकाबाट मेरो घरमा आउनुभएका राकेश गिरी र भिनाजु ज्ञानप्रसाद आचार्यसँग भलाकुसारी गर्याैं । पारिवारिक र वर्तमान राजनीतिक परिवेशका विषयमा कुराकानी गर्दै समय अघि बढ्यो । त्यसपछि म र राजन दाहाल ८ः३० बजे नगरपालिकातर्फ लाग्यौं । अघिल्लो दिन १८ वैशाखमा लफ्याङ, वाम्राङ र खाल्लेलगायतका स्थानमा भट्टराई, बस्नेत, कटुवालहरूको कुलपूजा देववली थियो भने त्यसै दिन किराँत समुदायले उभौली पर्व मनाइरहेका थिए ।
फरक-फरक संस्कृति, फरक विधि तर एउटै दिन र एउटै उत्साह । लफ्याङमा कटुवालहरूको देववलीमा अघिल्लो दिन सहभागी हुँदा देखिएको आत्मीयता, सम्मान र सद्भावले मन गदगद भयो । समाजसेवी कर्ण कटुवाल काठमाडौंबाट आउनु भएको रहेछ । उहाँले मलाई धेरै पटक निम्तो दिनुभएको थियो । मलाई पछिल्लो समय कुल पुजामा वोका काटेर होइन अन्य वैदिकविधी गर्दा हुन्थ्यो कि भन्ने लाग्न थालेको छ । अवोध वोकाको हत्याले हामी शान्तिकामी नेपालीहरूलाई गिज्याई रहेको पो होकि जस्तो लाग्न थालेकोछ । देववली थान नजिकै स्थानीय समाजसेवी डिल्ली कटुवालको घरमा पुगेर ससम्मान प्रसाद ग्रहण गरियो ।
त्यहाँ कुनै भेदभाव थिएन न कुनै दूरी । केवल माया, आत्मिय सम्मान र सहिष्णुता थियो । “विविधतामा एकता नै नेपालीको पहिचान हो” भन्ने भनाइ त्यहाँका व्यवहारमा प्रकट भएको थियो । राजन जी, दिनेश घिमिरे र म त्यहिंबाट मझुवागढी निक्लिएर किराँत समुदायसँग साकेला नाचेका थियौं ।
विसन राई, सूर्य राईलगायत हामीलाई ववी चाम्लिङ र ध्यानबहादुर राईले किराँत संस्कृती अनुसार पहेंलो टिका, रक्सीको कप र सुंगुरको मासुबाट स्वागत गर्नुभयो । हामी नखानेले भावनात्मक एकता दर्शायौं । लिने साथीहरूले स्वीकार्दै स्वाद लिनुभयो । त्यपछि मज्जाले कम्मर भाँचीभाँची नाची रहेका तरूनी तन्नेरी, वालवालिका र जेष्ठ नागरिकसँग हामीले पनि सर मिलायौं । नाचको ताल सुर हामी जान्दैनथ्यौं तर भाईचारा एकता र अपनत्वको सहभागिता थियो ।
नगरबाट हाटडाँडास्थित कार्यपालिका सदस्य अन्जना बस्नेतको घरमा निम्तो मान्न १९ गते विहान ९.३० बजे म र राजन जी पुग्दा २०-२२ वर्षका युवाहरू अतिथि सत्कारमा जुटेका थिए । राई, ब्राह्मण, क्षेत्री, नेवार आदि सबै समुदायका युवाहरू मिलेर व्यवस्थापनमा सक्रिय देखिन्थे । त्यो दृश्यले नयाँ पुस्तामा रहेको एकता र सकारात्मक ऊर्जा झल्काई रहेको थियो । भिन्नभिन्न परिकारयुक्त प्रसाद ग्रहण गरेर म र राजन जी लफ्याङतर्फ लम्कियौं भने तेजप्रकाश जैसी त्यहीं हुनुहुन्थ्यो । हामीले आभार प्रकट गर्दै विदा मागेर हाटडाँडाबाट भिडलाई छिचोल्दै अघि बढ्यौं । उकालो बाटो, सिमसिम पानी र बीचबीचमा झुल्किने घामले यात्रालाई अझ रमाइलो बनायो ।
बाटोमा नयाँ सडक ढलानको काम भइरहेको थियो । द्रुत गतिले विकासका संकेतहरू देखिन्थे । तर त्यही बाटो छेउछाउमा रित्तो घरहरू देख्दा मन भारी भयो । करिब एक घण्टाको यात्रामा १०-१२ वटा घर खाली थिए । सुन्दर र आधुनिक संरचना भए पनि मानिसको अभावले ती घरहरू निर्जीव देखिन्थे । “खाली घरले होइन, मानिसहरूको वसाई र गतिविधीले मात्रै गाउँ जिवन्त हुन्छ” भन्ने सत्य त्यहीँ अनुभूत भयो । स्थानीय सरकारको प्रमुख भएर पनि बसाइँसराई रोक्न नसकेको पीडाले मनमा अनेक प्रश्नहरू जन्मायो । हामीले समयमै योजना बनाउन नसकेर हो कि ? विकास अभाव वा देखासेखीले गाउँ रित्तिँदै गयो ? मनमा यस्तैयस्तै भावहरू छचल्कि रहे ।
प्रकृतिको रमणीयता भने अवर्णनीय थियो । बाँस, चिलाउने, उत्तिस, खनिउ लगायतका रुखहरूमा नयाँ पालुवा पलाउँदै थिए । हरियालीले जीवनको निरन्तरता र पुनर्जन्मको सन्देश दिइरहेको थियो । तर त्यही सुन्दर वातावरणबीच प्लास्टिक, सिसा र असरल्ल पाइपहरू देख्दा मन खिन्न भयो । जैविक विविधताको बीचमा कृत्रिम फोहोरले प्रकृतिलाई गिज्याइरहेको जस्तो लाग्थ्यो । “हामीले प्रकृतिलाई जोगाएनौं भने प्रकृतिले हामीलाई जोगाउँदैन” भन्ने चेतना अझै व्यवहारमा देखिएको छैन भन्ने मेरो मनमा महसुस गरायो ।
उकालो र तेर्सोबाटो छिचोल्दै समाजसेवी राजनीतिकर्मी ववी चाम्लिङ, नगरका मोहन भट्टराई, सुवास राई, जानुका श्रेष्ठ, खेमराज आचार्य, सुनिल पन्थीलगायत करिव २५ जना लर्को लागेर गएका थियौं निम्तो मान्नका लागि । वारीपारी हेर्दै पैदल हिड्दा मलाई खुव आनन्द आएको थियो । कतिपय कर्मचारी साथीहरूको हिड्ने बानी नभएर होला अनुहारमा थकान र असहजता प्रकट भईरहेको देखिन्थ्यो । विदाको दिन भएकोले कतिपय कर्मचारी साथीहरू ठट्टा गर्दै रमाई रहनु भएको थियो । करिव एक घण्टाको पैदल यात्रा पछाडि ववी दाई र हाम्रो गन्तव्य फरकफरक भयो ! भावनात्मक प्रेम पस्कदै विदा भयौं ।
नगरको कर्मचारी मिना जीको घर पुग्दा आत्मीय स्वागतले सबैको थकान बिर्सायो । मेरो मनमा भने त्यहाँको खानपान संस्कृतिमा देखिएको परिवर्तनले चिन्ता थप्यो । ड्यू, चाउचाउ, चटपटे र रंगीन पेय पदार्थहरूले हाम्रो परम्परागत स्वास्थ्यकर खानपानलाई विस्थापित गर्दैछन् । “स्वास्थ्य नै धन हो” भन्ने कुरा थाहा हुँदाहुँदै पनि देखावटी संस्कृतिले जीवनशैलीलाई प्रभावित गरिरहेको छ । दही, कागती पानी वा प्राकृतिक पेय पदार्थको सट्टा अस्वस्थकर ड्यु जस्ता केमिकल युक्त विकल्प रोज्नु नेपाली समाजमा चुनौती बन्दै गएको छ ।
यहि आत्ममन्थनका वीच हामी विभिन्न परिकार युक्त भोजमा लाइन लागेर सहभागी बन्यौं । आहा ! कति आत्मीयता ...!! सहभोज जस्तो भावना साटासाट गर्दै खायौं, रमायौं र आत्मीय आतिथ्यतालाई हृदयंगम गर्याैं । न कुनै पदीय मर्यादा र भेदभाव थियो न जातीय विभेद नै । हामी सबै साँस्कृतिक पर्वलाई आत्मासाथ गर्दै आनन्दसँग स्वादमा रमाएका थियौं । स्वादलिंदै खाना खाएर मैले विदा मागें । मलाई हतार भएकोले स्वास्थकर्मी संजिव अधिकारीसँग मोटर साइकलमा नगर फर्केएर आमा समूहको कार्यक्रममा सहभागी भईयो । महिला पुनर्ताजगी तथा उद्घोषण तालिममा सहभागी हुनुभएका दिदीबहिनीहरूको उत्साहले मनमा नयाँ ऊर्जा भरिदियो । छोटो तर परिणाममुखी उद्घाटन सकेर म कार्यकक्षमा झरें ।
पूर्व निर्धारित कार्यक्रम अनुसार खोटाङ जिल्लाबाट निर्वाचित माननीय आरेन राई सहितको टोली नगर आउनु भयो । नारायण खवास, वलराम आचार्य, गोमा विक, डिल्लीकुमारी आचार्यलगायत हुनुहुन्थ्यो त्यो समय । नगरमा माननीय ज्यू तथा अन्य साथीहरूलाई स-सम्मान स्वागत गर्यौ हामीले । राजनीतिक तथा सामाजिक छलफल र समिक्षा भए । जिल्लाको विकास निर्माण, उभौली पर्व र सामाजिक सहिष्णुताका विषय उठ्ने नै भए । यलम्बरको प्रतिमा सम्बन्धि विवादमा एकता र समन्वयमा हामी चुकेको निष्कर्ष निकालियो । “एकता नै शक्तिको आधार हो” भन्ने साझा स्वीकारोक्ती गरायो ।
देवलीको प्रसाद ग्रहणमा पुग्नै पर्ने थियो खाल्ले चन्द्र केसी भट्टराईको घर । आत्मिय सम्वन्ध र पारिवारिक सहिष्णुता थियो त्यो घरमा । चन्द्रजी दृढ निश्चयी, हक्की र कर्मशील मानिस । वेलावेला उहाँसँग मेरा असहमतिका चकाचक हुन्छन् तर मित्रताले सबै असजिला वन्धनलाई तोडिदिन्छन् । मेरो अनुपस्थितीमा कडा आलोचना पनि गरिरहनु हुन्छ । गत निर्वाचनमा अतिशयुक्त आलोचना गरियो तर मैले यसलाई धेरै गम्भीर्तापूर्वक लिईन । ती राजनीतिक र नीजि चरित्रगत विषय हुन् । मैले यसलाई त्यो ढंगबाट मात्रै लिन्छु ।
तर यो चाड हामी सबैको साझा परम्परागत सँस्कृती हो । मुढे व्यारेकको गणपती केदार लामिछाने पुग्नुभएको रहेछ । आफन्त र नातेदारको बाक्लो उपस्थिती थियो । नगर प्रमुख भएको कारण सबैले प्रेमपूर्वक स्वागत गर्नुभयो । करसाप सहित वसेर प्रसाद ग्रहण गर्याैं । वोकाको विभिन्न परिकार ग्रहण गर्याैं । काका-काकीको प्रेमभावबाट म सधैं ओतप्रोत हुन्थे । म भोकाएकोले होला थपिथपि खाएं तर करसाप र अन्य अतिथीले कम खानुभयो । मेरो त घर नै हो असजिलो लागेन थप्नलाई । अन्य अतिथी सहित समाजसेवी तथा राजनीतिकर्मी नवराज केसीको घर निक्लिएर करसापसँग विदा भयौं । म भने खतिवडा कुल वंशको निर्माणाधिन पुजा घरमा पुगें र अनुगमन गरें । त्यो टोलमा रहेका सबै घरमा भेट्दै एक घण्टाको अलमलपछि विदालिएं ।
निश्चल नेवा र म साँझतिर दिक्तेल फर्कंदा वाटोमा सिमसिम पानी परिरहेको थियो । चराचुरुङ्गीको आवाज, झ्याउकिरीको झन्कार र कागको सामूहिक ध्वनिले गाउँको साँझलाई जैविक विविधताको संगम झैं वातावरणलाई जीवन्त बनाइरहेको थियो । गाउँको सद्भाव, प्रेम र आतिथ्यता अवर्णनीय थियो । साँझ दिक्तेल बजार पुग्दा त्यहाँको अवस्था फरक देखियो । सुनसान, शिथिल र केही निराश वातावरण ।
संघीयतापछि घटेको चहलपहलले बजारको रौनक हराएको महसुस भयो । पहिलेको दिक्तेल बजारको व्यवसायीक चञ्चलता र सक्रियता अब सम्झनामा मात्र सीमित जस्तो लाग्यो । मोटरसाइकलमा भएकोले कपडा सबै हिलाम्ये थिए । निथ्रुक्क भिजेर घर पुग्दा एक्लोपन महशुस गरें । विगतमा आमा हुंदा दिनभरिका कुरा सोध्नुहुन्थ्यो । आमाको वात्सल्य र अविभावकत्व पाँउदा मन भुरूंग हुन्थ्यो । थकान महशुस हुन्नथ्यो । एक वर्ष अगाडि स्वर्गरोहण भएपछि आमा बिनाको घरमा शुन्यता र निरस लाग्थ्यो । पछिल्लो समय घर आँउदा सधैं यस्तै अनुभूति मनमा गढिरन्छ ।
घरकी देवी श्रीमती कुमारी सिग्देल १७-१८ वर्षदेखि काठमाडौंमा जागिरे जीवनमा छन् । घर आई पुग्दा उनी र छोराद्धय अध्ययन र अनुसन्धानको सम्झनाले मनलाई थप भावुक बनाँउछ । यदि कुमारी जी र छोराहरू साथमा हुन त आधा थकान कम हुने थियो होला । कल्पना गर्छु थकित अवस्थामा कुमारी जीको प्रेममा बहकिदा मन मष्तिष्क चंगा हुने थियो होला । तर जागिर छोड्न पनि मिलेन । यस्तै पीडा र व्यथा हरेक घरमा छन् । यसलाई स्वीकार्नुको विकल्प पनि छैन ।
मनमा उठेका यी नै ज्वारभाटासँग मैले केहि समय तर्कवितर्क गरिरहें । निथ्रुक्कै भिजेका कपडा फेरेर मनलाई शान्त बनाउदै दिनभरिका अनुभूतिलाई डायरीमा उतार्ने कोशिस गरें । जीवन केवल व्यक्तिगत यात्रा मात्र होइन । यो सम्बन्ध, जिम्मेवारी र अनुभूतिहरूको समिश्रण पाठशाला हो । ती चोट र घाउहरूलाई विर्सदैं म लेखनमा हराँए । लेख्दालेख्दै भुसुक्क निदाएछु । मच्छडको आक्रमणबाट १०.३० मा पो झल्यास्स व्यूझिएंछु । झुल लगाएर त्यही क्षण पुनः लेख्न थालें । करिव ११.३० मा लेखि सकें ।
उभौली र देववली एउटै दिन मनाईनु केवल संयोग मात्र होइन यो सह-अस्तित्वको सन्देश हो । यहाँका विविधता हाम्रो शक्ति र सँस्कृति हो । त्यही समाजमा बसाइँसराइ, वातावरणीय प्रदूषण, बदलिँदो जीवनशैली र सामाजिक दूरी जस्ता चुनौतीहरू पनि हाम्रा सामु पहाड झैं उभिएका छन् । यी सबैबीच हामीले नयाँ सोच, योजना र प्रतिबद्धता पस्कन आवश्यक छ । पारिवारिक वातावरण, जगेर्ना गरेको संस्कृति र पुर्खाले बनाएको परम्परागत एकता नै भोलिको पहिचान हो भन्ने सत्यलाई आत्मसात गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । यहि निष्कर्ष निकालेर ओछ्यानमा पल्टिएको थिएं क्षणभरमा नै निदाएछु ।
(स्तम्भकार–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुन् )