सोमवार, बैशाख २८ २०८३
नेपाल वाइड
खोटाङ, २८ वैशाख । सुनकोशीमा पानीको बहाव बढेपछि खोटाङलाई पूर्वी तराईसँग जोड्ने बङ्शिलाघाट र फोक्सिङटारका अस्थायी बेलिब्रिज हटाउने काम सुरु भएको छ । यससँगै वैशाख मसान्तपछि करिब छ महिना खोटाङको सिधा तराई सम्पर्क टुट्ने भएको छ । पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार निरन्तरको वर्षाले सुनकोशीको सतह बढेसँगै वैशाख २७ गते आइतबारबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको छ ।
फोक्सिङटारको बेलिब्रिज पनि वैशाख मसान्तबाट पूर्णरूपमा यातायात बन्द गरी हटाउने तयारी भइरहेको गाईघाट दिक्तेल सडक योजना कार्यालयका इन्जिनियर सुमन गोलेले जानकारी दिए । गत माघ २४ गते जडान गरिएको बङ्शिलाघाटको बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिकासहित भोजपुरका केही क्षेत्रका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो ।
बेलिब्रिज हटेपछि पुनः झोलुङ्गे पुलमार्फत मात्र सुनकोशी वारपार गर्नुपर्ने बाध्यता दोहोरिने स्थानीय युवराज मगरले बताए । फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो । गत वर्ष असोज १२ को बाढीले त्यहाँको मोटरेबल पुल बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो ।
पुनः पक्की पुल निर्माणका लागि बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । बङ्शिलाघाटमा पनि १९ करोडभन्दा बढी लागतमा ३३ महिनेभित्र पक्की पुल निर्माण गर्ने सम्झौता २०७९ मङ्सिरमा भए पनि ठेकेदारको लापरबाहीका कारण काम ढिला भएको स्थानीयको गुनासो छ । दुवै ठाउँमा स्थायी पुल निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने देखिएको छ ।