आइतवार, जेठ ३ २०८३
नेपाल वाइड
खोटाङ, ३ जेठ । खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय जिल्लाको रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी लक्ष्यसहित जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आइतबारदेखि ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को शुभारम्भ भएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघ खोटाङको संयुक्त आयोजनामा सञ्चालित यो महोत्सव जेठ ९ गतेसम्म छ दिन चल्नेछ । आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउँदै सन् २०५० भित्र ओलम्पिक पदक जित्न सक्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
खेलकुद, साहित्य र पर्यटनलाई एकै मञ्चमा जोड्ने उक्त महोत्सव जिल्लाका सबै १० स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा ३० लाख १३ हजार २३२ रुपैयाँ बजेटमा आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवको पहिलो दिन दिक्तेल बजारको मानव अधिकार चोकलाई केन्द्र मानेर छ उमेर समूहमा एथलेटिक्स अन्तर्गत दौड प्रतियोगिता आयोजना गरिएको छ । आयोजक सचिव मिलन कसजूका अनुसार जिल्लाभित्र र बाहिरका गरी ७५५ जना धावकले एकैसाथ सहभागिता जनाएका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समुहको उत्साहजनक उपस्थितिले महोत्सवमा थप रौनक थपिएको छ ।
१५ वर्षमाथिको १० किलोमिटर खुला दौडमा महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम, रणभीम गण मुडे ब्यारेककी जानुका राउत द्वितीय र मनिता खड्का तृतीय भईन् । पुरुषतर्फ ताप्लेजुङका अमिर लिम्बू प्रथम, खोटाङका जगेन्द्र राई द्वितीय र सोलुखुम्बुका रुद्रधन कुलुङ तृतीय भएका छन् । यस विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि ७ किलोमिटर दौडमा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिंह तामाङ द्वितीय र खोटाङका शिवप्रसाद राई तृतीय भएका छन् । यस विधाका विजेताले क्रमशः १५ हजार, १० हजार र ७ हजार पाएका छन् । आमाहरूको ५ किलोमिटर दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय र भीमकुमार आचार्य तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार ५५५, ४ हजार ४४४ र ३ हजार ३३३ रुपैयाँ पाएका छन् । ५५ वर्षमाथिका पुरुषका लागि २ किलोमिटर दौडमा धनीराम राई प्रथम, विचारी तामाङ द्वितीय र बुद्धवीर लामा तृतीय भएका छन् ।
१५ वर्षमुनिको ७ किलोमिटर दौडमा छात्रतर्फ सम्पत राई प्रथम, न्यूजल राई द्वितीय र धिरज राई तृतीय भए भने छात्रातर्फ अस्मिता कटवाल प्रथम, लक्ष्मी राई द्वितीय र कविता आचार्य तृतीय भईन् । १२ वर्षमुनिको ३ किलोमिटर दौडमा छात्रतर्फ निशान केसी प्रथम, दर्शन राई द्वितीय र यञ्जल राई तृतीय तथा छात्रातर्फ मन्दिरा श्रेष्ठ प्रथम, एलिसा कटवाल द्वितीय र रक्षा विश्वकर्मा तृतीय भईन् । १० वर्षमुनिको एक माइल दौडमा छात्रतर्फ जालपा माविका अनिल राई प्रथम, श्री माविका अजय श्रेष्ठ द्वितीय र दिक्तेल बोर्डिङका रविशन खत्री तृतीय भए ।
छात्रातर्फ जालपा माविकी अपेक्ष राई प्रथम, सरस्वती माविकी युना राई द्वितीय र श्री माविकी श्रद्धा राई तृतीय भईन् । विजेताहरूलाई नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र सुरक्षा प्रमुखले पुरस्कार वितरण गरेका थिए ।
यस्तै जेठ ६ गते हुने खुला पुरुष बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पाउनेछन् । सातौँसम्मका विजेतालाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । जेठ ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक महोत्सव आयोजना हुनेछ, जसमा ख्यातिप्राप्त साहित्यकारहरूबीच कविता, गजल र मुक्तक प्रस्तुतिको कार्यक्रम राखिएको छ ।
महोत्सव उद्घाटनको अवसरमा पत्रकार सविना अछामे परियारलाई ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान गरिएको छ भने समापनमा पाँच विशिष्ट व्यक्तिलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएका छ ।