Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    रावाबेँसी गाउँपालिकाद्वारा कृषकलाई २६ लाखको आधुनिक कृषि सामग्री वितरण

    रावाबेँसी गाउँपालिकाद्वारा कृषकलाई २६ लाखको आधुनिक कृषि सामग्री वितरण


    • शनिवार, जेठ २३ २०८३

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिकाद्वारा कृषकलाई २६ लाखको आधुनिक कृषि सामग्री वितरण
    गाउँपालिकाद्धारा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा कृषकहरुसँग पालिका अध्यक्ष फटिक श्रेष्ठलगायत ।

    खोटाङ, २३ जेठ । खोटाङको रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र कृषकको उत्पादन लागत घटाउने उद्देश्यले गाउँपालिकाभित्रका कृषक तथा कृषक समूहलाई २६ लाख बराबरको आधुनिक कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममार्फत उक्त सामग्री वितरण गरिएको हो ।

    गाउँपालिकाले ७५ र कृषकले २५ प्रतिशत लगानी गरी खरिद गरिएको उक्त सामग्री सम्बन्धित वडा कार्यालयको सिफारिस र कृषि विकास समितिको छनोटका आधारमा कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिए ।

    वितरित सामग्रीमा खेतबारी जोत्न ३३ मिनि टिलर, धान–मकै–गहुँ कुट्न आठ थ्रेसर, धान तथा घाँस काट्न १३ ब्रस कटर, खाडल खन्न पाँच अर्थअगर, विषादी छर्न ५२ इलेक्ट्रिक स्प्रेअर, सिँचाइका लागि ४२ हजारी, ११२ आधुनिक मौरी घार र फलफूलको हाँगा काट्न आठ सिकेचर समावेश छन् ।

    परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिको उपयोगबाट कृषकको उत्पादन बढाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । ७५ प्रतिशत अनुदानमा कृषि सामग्री गाउँमै उपलब्ध गराइएकोमा कृषकहरु हर्षित भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सर्वाधिक कृषि उपज उत्पादन हुने गाउँपालिकाका रूपमा परिचित रावाबेँसीमा हाल लिचीको उत्पादन भइरहेको छ ।

    लिची उत्पादनको केन्द्र मानिने यो गाउँपालिकामा गत वर्ष लिची बिक्रीबाट मात्रै ९५ लाख ६८ हजार रुपैयाँ आम्दानी भएको गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । प्रति केजी ५२ रुपैयाँका दरले आफ्नै गाउँमा बिक्री गरिएको लिचीबाट उक्त आम्दानी प्राप्त भएको कृषि शाखा प्रमुख बास्तोलाले जानकारी दिए ।

    वडा नम्बर–१ कुभिण्डेका खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटको लिची ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गरेका छन् । लिचीको सम्भावना उत्साहजनक भए पनि तिनको प्रवद्र्धनमा सरकारी चासो नपुगेको किसानको गुनासो छ ।

    उत्पादित लिचीको बजार व्यवस्थापन तथा प्रशोधन उद्योग स्थापना गरी मूल्य अभिवृद्धि गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरूको माग छ । रावाबेँसीमा लिचीका अतिरिक्त धान, मकै, गहुँ, कोदो र फापर पनि प्रशस्त मात्रामा उत्पादन हुन्छ । रावाखोला फाँटमा उत्पादन भएको धान काठमाडौँलगायत देशका विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।

    सम्बन्धित समाचार