आइतवार, आषाढ २१ २०८३
नेपाल वाइड
खोटाङ, २१ असार । खोटाङको पुरानो सदरमुकाम खोटाङबजारबाट छिमेकी जिल्ला भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल शनिबारदेखि सञ्चालनमा आएको छ ।
खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र भोजपुरको राप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीस्थित पाप्माखाम भञ्ज्याङ जोड्ने सडकखण्डमा पर्ने पुल खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र सोही गाउँपालिकाको वडा नम्बर–३ सावाकटहरेको सीमानामा रहेको सावाखोलामा निर्माण गरिएको हो ।
संघीय सरकारको समपुरक अनुदानमा निर्माण गरिएको उक्त मोटरेबल पुलको लागत भ्याटसहित तीन करोड सात लाख ७३ हजार ५९८ रहेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर–५ चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिए ।
करिब आठ वर्षदेखि कच्ची अवस्थामा सञ्चालित यस सडकखण्डको पुल शुभ एण्ड ध्रुव–श्याम जेभी खोटाङले ठेक्कामार्फत निर्माण गरेको हो । वि.सं. २०८० पुस ३० गते ठेक्का सम्झौता भएको पुल दुई वर्षभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने शर्त रहेको थियो ।
निर्माण सामग्रीको अभावलगायत विविध कारणले तोकिएको समयमा काम नसकिएपछि थप छ महिनाको म्याद थपिएको भए पनि ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्स्ट्रक्सन प्रा.लि.ले म्याद सकिनुभन्दा अगावै काम सम्पन्न गरेको कम्पनीका प्रोप्राइटर उमेशचन्द्र राईले बताए । गत जेठ मसान्तमा निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ २० दशमलव ९० मिटर छ ।
निर्माण सम्पन्न भएको करिब एक महिनापछि गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले शनिबार पुलको रिबन काटी औपचारिक उद्घाटन गरे ।
पुल सञ्चालनमा आएसँगै यस सडकखण्डमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको वाप्लुखाका वडाध्यक्ष पारस राईले जनाए । पुल नहुँदा हिउँदमा मात्र करिब छ महिना यातायात चल्ने गरेकोमा अब वर्षैभरि आवतजावत सहज हुने भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।
पुल निर्माणबापत गाउँपालिकाबाट ५० लाख भुक्तानी लिन बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ । उक्त रकम चालु असार मसान्तभित्रै भुक्तानी गरी फरफारक गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।
वि.सं. २०७५ सालमा ट्रयाक खोजिएको खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित दुई करोडको लागतमा हाल स्तरोन्नति भइरहेको छ ।
शान्ति भूमि कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्कामार्फत स्तरोन्नति गरिरहेको करिब ३३ किलोमिटर लामो उक्त सडक सम्पन्न भएपछि खोटाङ र भोजपुर दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावतमा थप सहज हुने अपेक्षा गरिएको छ ।
खोटाङ र भोजपुरका स्थानीयवासीबीच साँस्कृतिक तथा व्यापारिक सम्बन्ध थप सहज बनाउन यस सडक तथा पुलको सञ्चालनसँगै थप सुदृढ हुने विश्वास लिइएको छ ।