Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    बाक्सिला सबस्टेसनः दश वर्षमा पनि बनेन विद्युत सबस्टेसन

    बाक्सिला सबस्टेसनः दश वर्षमा पनि बनेन विद्युत सबस्टेसन


    • शुक्रवार, भाद्र ५ २०८३

    • नेपाल वाइड


    बाक्सिला सबस्टेसनः दश वर्षमा पनि बनेन विद्युत सबस्टेसन
    बाक्सिलाको सिम्पानीमा अलपत्र अवस्थामा रहेको निर्माणधिन विद्युत सबस्टेसन ।

    खोटाङ, ५ भदौ । खोटाङको उत्तरी भेगमा गुणस्तरीय बिजुली पुर्‍याउने लक्ष्यका साथ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको सिम्पानीमा सुरु गरिएको विद्युत सबस्टेसन निर्माण दश वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७३ मा भारतीय कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङले तीन वर्षभित्र काम सक्ने सर्तमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको थियो ।

    तर हालसम्म क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ, र थुप्रै संरचनामा पिलर मात्र ठड्याइएको अवस्थामा ठेकेदार कम्पनी सम्पर्कविहीन बनेको छ । स्थानीय नेता माइतीराज राईका अनुसार निर्माणस्थलमा ल्याइएका विद्युतीय उपकरणहरू खुला ठाउँमा थन्किँदा धेरै बिग्रिसकेका छन् ।

    गाउँपालिका अध्यक्ष समिर राईले विराटनगरबाट किनेर राखिएका ट्रान्सफर्मरहरू समेत निर्माणस्थल पुर्‍याइएको छैन भन्दै प्राधिकरणलाई बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो गरे ।

    नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख धनराज विष्टका अनुसार ठेकेदार कम्पनीले नियमित काम गरे चाँडै सक्न सकिने भए पनि हाल त्यो अवस्था नरहेकाले आवश्यक परे सम्झौता तोडेर अर्को ठेक्कामार्फत सबस्टेसन सञ्चालनमा ल्याउने योजनामा प्राधिकरण जुटेको छ । अहिले उत्तरी क्षेत्रका उपभोक्ताले बुइपा सबस्टेसनबाट लामो दूरीको लाइनमार्फत बिजुली पाइरहेका छन्, जुन पानी–हावा वा चट्याङ पर्दा प्रायः अवरुद्ध हुने गरेको छ ।

    उक्त सबस्टेसन बनेर सञ्चालनमा आए कूल लागत झन्डै ११ करोड पुग्ने प्राधिकरणको अनुमान छ । पटकपटक पेटी ठेकेदार परिवर्तन र प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा म्याद थप हुँदै आएको छ । कम्पनीले अधिकांश ठाउँमा काम पूरा नगरेपछि प्राधिकरणले यसलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको छ ।

    सम्बन्धित समाचार