Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    ३२ वर्षपछि दोबेला प्रहरी चौकी अब आफ्नै भवनमा

    ३२ वर्षपछि दोबेला प्रहरी चौकी अब आफ्नै भवनमा


    • सोमवार, भाद्र ८ २०८३

    • नेपाल वाइड


    ३२ वर्षपछि दोबेला प्रहरी चौकी अब आफ्नै भवनमा
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित दोबेलामा निर्माण गरिएको प्रहरी चौकी ।

    खोटाङ, ८ भदौ । ३२ वर्षसम्म भाडाको घरमा गुजारा गर्दै आएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित दोबेला प्रहरी चौकीले अन्ततः आफ्नै कार्यालय भवन पाएको छ । वि.सं. २०५१ सालमा स्थापना भएदेखि नै वार्षिक १८ हजार रुपैयाँ भाडा तिरेर स्थानीयको घरमा सेवा प्रवाह गर्दै आएको उक्त चौकी भदौको पहिलो हप्तादेखि आफ्नै कार्यालय भवनबाट सञ्चालनमा आएको छ ।

    कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले उपलब्ध गराएको बजेटबाट उक्त भवन निर्माण गरिएको हो । मूल्यअभिवृद्धि करसहित ४० लाख ७८ हजार ३९० रुपैयाँ लागतमा घेराबारसहितको उक्त कार्यालय भवन बासु कन्ट्रक्सन एण्ड सप्लायर्सले निर्माण गरेको हो ।

    वि.सं. २०८२ चैत–१७ मा सम्झौता भएको उक्त निर्माण कार्य तोकिएकै समयमा असार–१५ गते सम्पन्न भएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले बताए । गत शुक्रबार कोशी प्रदेशका पूर्वमन्त्री भूपेन्द्र राईले रिबन काटेर उद्घाटन गरेको यस भवनमा जम्मा नौवटा कोठा रहेका छन् ।

    महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष, कार्यालय प्रमुखको कक्ष, ब्यारेक र भान्छा घरसमेत भवनमा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । भवन निर्माणका लागि आवश्यक तीन रोपनी १४ आना जग्गा स्थानीयवासीले चन्दा उठाएर निःशुल्क उपलब्ध गराएका थिए ।

    माओवादी सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको उक्त चौकी वि.सं. २०६४ मा पुनः सोही स्थानमा स्थापना भएको थियो । लामो समयदेखि साँघुरो भाडाको घरमा गुजारा गर्दै आएको प्रहरी चौकी अब आफ्नै भवनमा सरेपछि सेवा प्रवाह थप सहज हुने प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार